राष्ट्रिय विभुति शंखधर साख्वा: प्रतिष्ठान
नेपालको इतिहासमा ७ दशकको अभियान पछि शंखधर साख्वाःलाई राष्ट्रिय विभूतिको रुपमा स्थापित गर्न सफल भएको छ । राष्ट्रले उनलाई राष्ट्रको निम्ति पुर्याइएको सामाजिक क्रान्तिको योगदानको कदर गर्दै ने. सं. ११२० (२०५६ मंसिर २ गते) चौधौं राष्ट्रिय विभूति घोषणा गरेका थिए । आजभन्दा ११४१ वर्ष पहिले आफूले प्राप्त गरेको अथाह धनबाट ऋणमा डुबेका जनताको ऋण चुक्ता गरी राष्ट्रलाई ऋणमुक्त घोषणा गरी नेपाल संबतकाे सुरुवात शंखधर साख्वाःले गरको थियो। नेपाल प्रवर्तक शंखधर साख्वाःलाई ने. सं. ११२० कछलाथ्व दशमी (२०५६ मंसिर २ गते) मा राष्ट्रिय विभूति घोषणा गरेतापनि सरकारले ९ वर्ष पछि नेपाल नेपाल संबतलाई राष्ट्रिय संबतकाे रुपमा तत्कालीन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्त्रिपरिषद्को बैठकले घोषणा गरियो।
नेपाल संवतको बारेमा विगतका दिनहरूमा र अझै पनि यसबारे विभिन्न सोच तथा भिव्यक्तिहरू प्रकट भए । त्यस अभियानबाट नेपाल संवतको विकास र व्यवहारिक रुपमा प्रयोग वा प्रचलनमा ल्याउने कार्य थप मलजल मिल्दै आएको छ । नेपाल संवत राष्ट्रको मौलिक संवतको रुपमा स्थापित भइसकेपछि अब यस संवतलाई मात्र सांस्कृतिक संवतको रुपमा मात्र नभई राष्ट्रिय कामकाजमा समेत प्रयोग गर्न अथवा व्यवहारिक रुपमा प्रयोगमा ल्याउन सरकारले आवश्यक पहल गर्नुपर्ने आजको आवश्यकता हो। अबको नयाँ नेपाल संघीय गणतान्त्रिक नेपाललाई संस्थागत गर्न अभ्यास गरिरहेको अवस्थामा यस संवतको प्रयोगमा गहन रुपमा सबैले सोच्नुपर्ने अवस्था देखिएको छ ।
नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले राष्ट्र र राष्ट्रबासीप्रति राष्ट्रियताको भावनाबाट अभिप्रेरित भई ऋणमोचनका लागि निर्वाह गरेको भूमिका तथा नेपाल संवत चलाउन खेलेको महत्वपूर्ण योगदानलाई चिरस्मरणीय तुल्याउन निजले गरको योगदानबारे जनचेतना जगाउनका साथै निजले राष्ट्र र राष्ट्रबासीको उत्थानका लागि गरेको कार्य, कृति, लेख रचना तथा कलाको खोज, अनुसन्धान तथा उत्खनन गरी सोलाई संकलित गरी सुरक्षित रूपमा अभिलेखबद्ध गरी ब्यवस्थित गर्ने प्रयोजनका लागि इतिहासविद्, अनुसन्धानकर्ता, बुद्धिजीवि र समाजसेवीहरूको सहयोग सहित नेपाल सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँग समेत समन्वय कायम गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा निजको योगदानबारे प्रकाश पार्ने उद्देश्यले राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान गठन भएको हो।
प्रतिष्ठानको उद्देश्यः
- प्रचलिन नेपाल कानून र नेपाल सरकारको नीति निर्देशनको अधिनमा रही राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदान, कार्य, कृति, लेख, रचना तथा कलाको खोज उत्खनन् एवं अनुसन्धान गरी त्यसको सुरक्षित रूपमा ब्यवस्थापन गरी सो सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रचार प्रसार गरी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको छ ।
- प्रमुख उद्देश्यको सर्वसामान्यतया प्रतिकूल असर नपर्ने गरी प्रतिष्ठानले देहायको कार्यक्रमहरू सञ्चालन गर्नेछः–
(क) नेपाल सम्बत्का प्रतर्वक शंखधर साख्वाः र नेपाल सम्बत्का सम्बन्धमा समय समयमा नियमित छलफल कार्यक्रम सञ्चालन गर्ने,
(ख) शंखधर साख्वाःको योगदान, कृति, कार्य, रचना आदिका सम्बन्धमा जनचेतना जगाउन चेतनामूलक प्रचार प्रसार गर्ने, गराउने।
(ग) नेपाल सम्बत् तथा शंखधर साख्वाःको सम्बन्धमा खोज अध्ययन तथा अनुसन्धान गरेका इतिहासविद् तथा बुद्धिजीविहरूको भेला गराई विचार आदान प्रदान गर्ने
कार्यक्रमहरू सञ्चालन गर्ने,
(घ) नेपाल सम्बत् तथा शंखधर साख्वाःका सम्बन्धमा लेखिएका वा संकलन गरिएका लेख, पुस्तक, रचना, कृति, सुचना वा कुनै पनि किसिमको प्रकाशनहरूको
अभिलेख सुरक्षित गरी राख्ने,
(ङ) नेपाल सम्बत्को मौलिकता र महत्वको सम्बन्धमा लेख, पुस्तक, पाठ्य सामग्री प्रकाशित गरी जनमानसमा यसको सम्बन्धमा स्पष्ट धारणा कायम गर्न आवश्यक
कार्यक्रमहरू सञ्चालन गर्ने,
(च) शंखधर साख्वाःको सम्बन्धमा निजको योगदान बारे प्रकाश पार्दै पुस्तक, लेख रचना तथा आवश्यक पाठ्य सामग्रीहरू प्रकाशन गर्ने,
(छ) शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन प्रत्येक वर्ष शंखधर दिवसको रूपमा मनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने,
(ज) शंखधर साख्वाःको प्रतिमा स्थापना भएको स्थान शंखधर चोक वरीपरी आवश्यक पूर्वाधार तयार गर्ने कार्यका लागि गुरु योजना तयार गर्न मध्यपुर थिमि नगरपालिकासंग समन्वय गरी आवश्यक पहल गर्ने
(झ) शंखधर चोकलाई पुरातात्विक महत्वका साथ पूर्वाधारको विकास निर्माण गर्नमा जोड दिने,
(ञ) प्रतिष्ठानको प्रमुख उद्देश्यलाई पूर्ति गर्नका लागि नेपाल सरकार र सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सित आवश्यक समन्वय कायम गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र प्रतिष्ठानको विकासको लागि विभिन्न किसिमको भौतिक, आर्थिक तथा प्राविधिक आवश्यक सहयोग समेत प्राप्त गर्ने,
(ट) प्रतिष्ठानको कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्न एवं प्रतिष्ठानको विकास गरी यसको उद्देश्य प्राप्ति गर्न सरकारी तथा गैर सरकारी संस्था तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यक्ति, संस्था, निकाय वा सरकारको सहयोग प्राप्त गरी एउटा अक्षयकोष स्थापना गर्ने र त्यसबाट स्थायी रूपमा कार्यक्रमहरू सञ्चालन गर्ने,
(ठ) नेपाल सम्बत् र शंखधर साख्वाःको सम्बन्धमा नेपाल सरकार र अन्य सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आवश्यक सूचना, सामग्रीहरू उपलब्ध गराई
वार्षिक कार्यक्रमहरू तर्जुमा गरी सो को सञ्चालन गर्ने,
(ड) राष्ट्रिय विभूति शंखधरको सम्बन्धमा आवश्यक जानकारी दिन शैक्षिक पाठ्यक्रम तयार गर्न पहल गर्ने,
(ड) प्रतिष्ठानको उद्देश्य पूर्तिका लागि आवश्यक कोषको ब्यवस्था गर्ने,
(ण) प्रतिष्ठानको उद्देश्य पूर्तिका लागि आवश्यक विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने।